काठमाडौं, चैत १७ । नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाइरहेका बेला महामन्त्री प्रदीप पौडेल ले पार्टीभित्र एकताका लागि नेता–कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि उनले सामाजिक सञ्जालमार्फत सबैलाई एकजुट हुन आग्रह गरेका हुन्। उनले वर्तमान परिस्थितिमा पार्टीभित्र विभाजनको अवस्था सिर्जना हुन नदिनुपर्नेमा जोड दिएका छन्।
“अहिलेको प्रतिकूल अवस्थामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुँदैन,” पौडेलले लेखेका छन्, “म महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा सबैलाई एकताबद्ध हुन आग्रह गर्दछु।”
उनले विगतमा देशका विभिन्न संकटका बेला कांग्रेस एकजुट भएर अघि बढेको स्मरण गर्दै त्यही एकताको बलमा ऐतिहासिक परिवर्तन सम्भव भएको बताएका छन्।
पौडेलले एकतामा नै शक्ति निहित रहेको उल्लेख गर्दै भविष्यमा पनि पार्टीलाई मजबुत बनाउन एकता अपरिहार्य रहेको धारणा राखेका छन्।
पार्टीभित्र देखिएको आन्तरिक असन्तुलनका बीच आएको उनको यस्तो आह्वानलाई कांग्रेसभित्रको एकता कायम राख्ने प्रयासका रूपमा हेरिएको छ।






