काठमाडौं, चैत १७ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले प्रतिनिधि सभाको समानुपातिक सांसद सिफारिसमा पार्टी नेतृत्वले पक्षपात गरेको आरोप लगाएका छन्।
काठमाडौँको महाराजगञ्जमा जारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले विशेष महाधिवेशनबाट आएको नेतृत्वले सिफारिस प्रक्रियामा ‘झेल’ गरेको बताएका हुन्।
बैठकमा उनले पिछडिएको क्षेत्रतर्फको कोटामा पहिलो नम्बरमा रहेकी विद्या तिमिल्सिना को नाम हटाएर सातौँ नम्बरमा रहेका कालिबहादुर सहकारी लाई सांसद बनाइएको विषय उठाएका थिए। खड्काका अनुसार यो निर्णय प्रक्रिया पारदर्शी र निष्पक्ष नभएको उनको दाबी छ।
उनले सो विषयमा तिमिल्सिनाले सर्वोच्च अदालतमा रिट दायर गरिसकेको जानकारी पनि दिएका छन्। त्यस्तै, दलित कोटातर्फ पनि पक्षपात भएको भन्दै मानबहादुर नेपाली ले समेत सर्वोच्च अदालतमा मुद्दा दायर गरेको खड्काले उल्लेख गरेका छन्।
खड्काले पार्टीभित्र समानुपातिक प्रणालीको मर्मअनुसार निर्णय नभएको भन्दै यसले आन्तरिक विवाद थप बढाउन सक्ने चेतावनी दिएका छन्।
उनको अभिव्यक्तिलाई कांग्रेसभित्र बढ्दो गुटीय तनाव र निर्णय प्रक्रियामाथिको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।






