काठमाडौँ , चैत १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य एवं जसपा नेपालका संरक्षक महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
मंगलबार बुढानिलकण्ठस्थित लामिछानेको निजी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास र प्राथमिकतामा राख्नुपर्ने योजनाहरूका विषयमा विस्तृत छलफल भएको बताइएको छ।
भेटका क्रममा दुवै नेताले पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्नेमा सहमति जनाएका छन्। विशेषगरी मधेस क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र जनजीवन सुधारका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा दुवै पक्ष एकमत देखिएका छन्।
त्यस्तै, सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। लामिछानेको सचिवालयका अनुसार विकास र सुशासनका एजेन्डामा केन्द्रित भई आपसी सहकार्यलाई अझ मजबुत बनाउने सहमति भएको छ।
हालको राजनीतिक परिवेशमा प्रमुख नेताहरूबीचको यस्तो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यसले आगामी दिनमा सहकार्य र नीति निर्माणमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।






