ओली पक्राउको विरोधमा एमालेद्वारा देशव्यापी चरणबद्ध आन्दोलन घोषणा



काठमाडौं, चैत १७ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालले देशव्यापी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार चैत २४ गतेदेखि देशभर विभिन्न तहमा प्रदर्शन र भेला आयोजना गरिनेछ। सो दिन सबै जिल्ला कमिटीले आन्दोलन केन्द्रित वृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ।

एमालेले चैत २८ गते देशभरका सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला आयोजना गर्ने र वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जनाएको छ। आन्दोलनको मुख्य कार्यक्रमका रूपमा वैशाख १२ गते काठमाडौंमा विशाल विरोध सभा आयोजना गरिनेछ।

यसैगरी, पार्टीका जनसंगठनहरूले पनि आफ्नै ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै समग्र आन्दोलनलाई सशक्त बनाउने निर्णय गरिएको छ। भोलि बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्नेछ।

बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, संसदभित्र प्रभावकारी भूमिका निर्वाह गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकिएको छ। संसदीय दलको बैठक भोलि दिउँसो ३ बजे बस्ने जनाइएको छ।

एमालेले आन्दोलनका थप कार्यक्रम तय गर्न चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको छ। पार्टीले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भन्दै त्यसको सशक्त विरोध गर्ने स्पष्ट संकेत दिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको