काठमाडौं, चैत १८ । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी प्रस्तुत गरेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा उनले औपचारिक रूपमा आफ्नो दाबी राखेका हुन्।
बैठकमा बोल्दै नेम्बाङले पार्टीको विधि, पद्धति र वरिष्ठताको सम्मान गर्ने बताउँदै वर्तमान परिस्थितिमा युवा नेतृत्वको आवश्यकता रहेको धारणा राखे। उनले लोकतान्त्रिक अभ्यासअनुसार प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्नेमा जोड दिए।
‘अहिलेको जनभावना र देशको आवश्यकतालाई मध्यनजर गर्दै मैले आफ्नो इच्छा व्यक्त गरेको हुँ,’ नेम्बाङको भनाइ उद्धृत गर्दै एक नेताले बताए। उनले देशको वर्तमान राजनीतिक अवस्थालाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता पनि औंल्याएका थिए।
युवाको ऊर्जा र अग्रजको अनुभवलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। ‘मेरो नारा नै युवाको ऊर्जा र अग्रजको अनुभव तथा आशिर्वाद हो,’ उनले बैठकमा बताएका थिए।
यसअघि सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पनि उनले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए। ‘पार्टीले जिम्मेवारी दिएमा म पछि हट्दिनँ,’ उनले बताएका थिए।
इलाम–२ बाट पुनः निर्वाचित ३६ वर्षीय नेम्बाङलाई एमालेभित्र युवा नेतृत्वको रूपमा हेरिने गरिएको छ।






