जनकपुरधाम, चैत १९ । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। यस वर्षको परीक्षालाई थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने लक्ष्यसहित नयाँ निर्देशिका लागू गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको छ।
यस वर्षको एसइई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षार्थीमध्ये छात्राको संख्या बढी रहेको छ। जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जनाले परीक्षा दिइरहेका छन्।
देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन्। परीक्षा सुरक्षाका लागि प्रत्येक केन्द्रमा प्रहरीसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ।
यस वर्ष परीक्षा सकिएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्ने व्यवस्था गरिएको छ। साथै, उत्तरपुस्तिकालाई सुरक्षित रूपमा सिलबन्दी गरी सम्बन्धित निकायमा बुझाउने नयाँ प्रावधान लागू गरिएको छ।
‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ अनुसार परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमै बसेर काम गर्नुपर्नेछ। परीक्षण कक्षमा सिसिटिभी जडान गरी निगरानी बढाइएको छ भने मोबाइललगायतका विद्युतीय उपकरण लैजान नपाइने व्यवस्था गरिएको छ।
अनियमितता नियन्त्रणका लागि उत्तरपुस्तिका बाहिर लैजान नपाइने, अयोग्य शिक्षकबाट परीक्षण गराउन नपाइने र लापरवाही पाइएमा कारबाही गरिने प्रावधान राखिएको छ।
यसैबीच, परीक्षामा अवरोध नपरोस् भन्ने उद्देश्यले यस वर्ष सामूहिक अनुगमनमा रोक लगाइएको छ। जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। तालिकाअनुसार चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ र २६ गते ऐच्छिक विषय तथा चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुनेछ।






