काठमाडौँ, चैत २० । इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा ३३ वर्षीय झा हाल इरानको कारागारमा रहेको र उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री का अनुसार, मुद्दा जारी भएकाले तत्काल उनलाई थप केही गर्न नसकिने अवस्था रहेको छ।
मन्त्रालयले स्पष्ट पारेको छ कि झा हालको मध्यपूर्व तनावसँग सम्बन्धित छैन। मन्त्रालयले झासँग सम्बन्धित थप जानकारी बुझ्न र सम्बन्धित पक्षसँग सम्पर्कमा रहेको बताएको छ।
अमृत झा मूलतः महोत्तरीका हुन् र हाल उदयपुरको त्रियुगा नगरपालिका–११ मा बस्दै आएका थिए। उनी दुई वर्ष अघि कामका लागि नेपालबाट दुबई गएका थिए।
तेल बोक्ने जहाजमा सिप क्याप्टेनको रूपमा कार्यरत झाले थाइल्यान्डको बैंककमा अध्ययन गरेका थिए। अध्ययनपछि कामका लागि दुबई गएका उनले यसअघि पनि इरानमा तेल लिन सिप लिएर जाने अनुभव राखेका छन्।
परराष्ट्र मन्त्रालयले झा सकुशल रहेको जानकारी सार्वजनिक गर्दै, उनका परिवार र सम्बन्धित निकायलाई आश्वासन दिएको छ।






