सभामुखमा डीपी अर्याल निर्विरोध, घोषणा आइतबारको बैठकमा



काठमाडौं, चैत २०। प्रतिनिधिसभाको सभामुख पदमा सांसद डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। यद्यपि, उनको औपचारिक घोषणा भने आगामी प्रतिनिधिसभा बैठकमा गरिनेछ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। उक्त अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।

प्रतिनिधिसभा नियमावली–२०७९ को नियम ७ अनुसार, यदि सभामुख पदमा एक मात्र उम्मेदवारी दर्ता भएमा, बैठकमा प्रस्तावक सदस्यले समर्थन जनाएपछि अध्यक्षता गर्ने व्यक्तिले सो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। सो घोषणा अब बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ, जुन आइतबारका लागि तय गरिएको छ।

प्रतिनिधिसभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को स्पष्ट बहुमत भएकाले विपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका छैनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा ९माओवादी केन्द्र० का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन्।

सभामुख चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगका हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर, यदि एकल उम्मेदवारी परेको अवस्थामा एउटै दलबाट पनि चयन हुन सक्ने प्रावधान रहेको उनले बताए।

हालसम्म उपसभामुख पदका लागि कुनै ठोस छलफल भने भइसकेको छैन। तर, यो पद कुन दललाई दिने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले पनि उपसभामुखको चयन महत्वपूर्ण मानिन्छ। संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने भएकाले यसको राजनीतिक प्रभाव पनि उल्लेखनीय रहने गर्दछ।

निर्वाचित भएपछि सभामुखले पदभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: २०८२ चैत्र २०, शुक्रबार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको