उखु अभावले एभरेष्ट चिनी मिलको उत्पादन घट्यो



महोत्तरी, चैत २० । उखु खेतीका लागि परिचित महोत्तरी जिल्ला मा यस वर्ष पनि चिनी उत्पादन घटेको छ। एभरेष्ट चिनी मिल ले चालु क्रसिङ सिजन ०८२/८३ मा लक्ष्यअनुसार उत्पादन गर्न नसकेको जनाएको छ।

मिलका अनुसार यस वर्ष २८ लाख ५३ हजार १७८ क्विन्टल उखु क्रसिङ गर्दा जम्मा २ लाख ६१ हजार ७३८ क्विन्टल चिनी उत्पादन भएको छ। यो अघिल्ला दुई वर्षको तुलनामा समेत कम हो। तथ्याङ्कअनुसार क्रसिङ सिजन ०८०/८१ मा २ लाख ७० हजार ५८८ र ०८१/८२ मा २ लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन भएको थियो।

मिलले यस वर्ष करिब ३१ लाख क्विन्टल उखु क्रसिङ गरी २ लाख ७९ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर आवश्यकभन्दा करिब २ लाख क्विन्टल उखु कम आपूर्ति भएकाले लक्ष्यभन्दा करिब १८ हजार क्विन्टल चिनी कम उत्पादन भएको मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिए।

उत्पादन घटे पनि चिनीको प्रतिलब्धी (रिकभरी) भने सुधार भएको छ। गत वर्ष ८.७२ प्रतिशत रहेको प्रतिलब्धी यस वर्ष बढेर ९.१७ प्रतिशत पुगेको छ। यसले उखुको गुणस्तर केही सुधारिएको संकेत गर्छ।

मिलका प्राविधिज्ञका अनुसार यस वर्ष सर्लाही क्षेत्रबाट आएको उखु तुलनात्मक रूपमा ताजा र स्तरीय भएकाले प्रतिलब्धी बढेको हो। तर अझै करिब ८० प्रतिशत किसानले पुराना जातका उखु खेती गरिरहेकाले उत्पादन र प्रतिलब्धी दुवै अपेक्षाअनुसार बढ्न नसकेको जनाइएको छ।

मिलले किसानलाई नयाँ तथा उन्नत जातका उखु खेतीतर्फ आकर्षित गर्न विभिन्न पहलहरू अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २०, शुक्रबार १६:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको