काठमाडौँ, चैत २० । मध्यपूर्वमा जारी तनाव र प्रभावित उडानका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्री ले इजरायल, अमेरिका र इरानबीचको तनावले उडानहरू अनियमित भएको र शव ल्याउन कठिनाइ भएको जानकारी दिनुभयो।
प्रवक्ता क्षेत्रीका अनुसार, स्वदेश ल्याउन बाँकी शवहरू यस प्रकार छन्स् रियाद १७, दुबई १५, जेद्दा ५, आबुधाबी ४, तेल अबीभ ३, कतार २, र ओमान तथा बहराइनमा १–१ शव। विभिन्न समयमा मृत्यु भएका ती नेपालीको शव स्वदेश ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको र प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो।
मध्यपूर्वको हालको द्वन्द्वमा हालसम्म एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ। असहज परिस्थितिमा रहेका नेपालीको विवरण सङ्कलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म ८६,४२० जनाले आफ्नो विवरण दर्ता गराएका छन्।
प्रवक्ता क्षेत्रीका अनुसार, हाल मन्त्रालयसँग सम्पर्क गरी आफू असुरक्षित रहेको जानकारी दिनेको संख्या क्रमशः घट्दै गएको छ। ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकको व्यवस्थापन पनि भइसकेको छ। कुवेतमा रहेका दुई नेपालीले साउदी अरबको भिसा प्राप्त गरिसके पनि उनीहरूले आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बस्ने जानकारी दिएका छन्।






