सप्तरी, चैत २० । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल को होस्टलमा १४ वर्षीय बालकको शंकास्पद मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्कुल सञ्चालक धीरेन्द्रप्रसाद चौधरी र पालेका रूपमा कार्यरत भोला मण्डल रहेका छन्। दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार, घटनामा संलग्नता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो र हाल थप अनुसन्धान अघि बढाइएको छ।
मृतक खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह हुन्। उनी विगत ७ वर्षदेखि उक्त होस्टलमा बस्दै आएका थिए। ७ चैत बिहान उनी होस्टलभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए।
घटनापछि स्कुल सञ्चालक, उनकी श्रीमती शोभा र पालेले बालकलाई अस्पताल पुर्याएपछि मात्र परिवार र प्रहरीलाई जानकारी गराएको खुलेको छ।
मृतकका आमा ममता साहले छोरामाथि कुटपिट गरिएको, घटनाबारे ढिलो जानकारी दिइएको र घटनाको समयमा सीसीटीभी बन्द राखिएको भन्दै घटनालाई शंकास्पद बताएकी छन्।
यद्यपि, आरोप लागेकी शोभा चौधरीलाई भने हालसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






