रौतहट, चैत २०। गढिमाई नगरपालिका–७, धरमपुर–धनाडी सडक खण्डमा बिहीबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदीप बस्याल का अनुसार, धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना. ६ त. ९६८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई खेतमा पल्टिएको हो।
दुर्घटनामा ट्याक्टर चालक, गौर नगरपालिका–६, सबगढा निवासी २८ वर्षीय रञ्जित साहको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रवक्ता बस्यालका अनुसार साहको मृत्यु ट्याक्टरको इन्जिनको भागले च्यापिँदा भएको हो।
प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटाइएको थियो। घटनाको प्रारम्भिक अनुसन्धान हाल पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






