प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध, आजै सपथ



काठमाडौं, चैत २२ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन्।

गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गरिएको थियो र उक्त समयमा अर्याल मात्र उम्मेदवार भएका कारण आजको बैठकमा उनी निर्विरोध घोषित भएका हुन्।



प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुखमा एक मात्र उम्मेदवार भएमा समर्थक सदस्यको उपस्थितिमा सभामुख घोषित गर्न सकिने व्यवस्था छ। प्रतिनिधिसभामा सत्तापक्ष राष्ट्रिय समाजवादी पार्टीको दुई तिहाइ बहुमत भएकाले प्रतिपक्षी दलले उम्मेदवारी दिएका छैनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्। अन्य दलहरूमा नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, र राप्रपा ५ सांसद रहेका छन्।

सभामुख चयन भएपछि अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। प्रतिनिधिसभा सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ। निर्वाचित भएपनि यदि एउटै दलको उम्मेदवारी मात्र भएमा नियमअनुसार स्वीकार्य हुन्छ।

निर्वाचित सभामुखले पदभार सम्हाल्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहण आज दिउँसो साढे २ बजे शीतल निवासमा हुनेछ। त्यसपछि अर्याल कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन्।

सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को सदस्य हुने भएकाले उपसभामुखको निर्वाचनमा प्रतिनिधित्व गर्ने दलको विषय पनि महत्वपूर्ण रहनेछ। संवैधानिक परिषद् नेपालको संविधानको धारा २८४ अनुसार प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायका प्रमुख नियुक्तिका सिफारिस गर्ने निकाय हो।

अबदेखि अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन् र नयाँ नेतृत्वसहित संसद् कार्यभार अघि बढाउने तयारीमा छन्।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको