इन्धन खपतमा सचेत रहन आयल निगमको अपिल



काठमाडौं, चैत २२ । नेपाल आयल निगमले उपभोक्तालाई इन्धन खपतमा सचेत रहन आग्रह गरेको छ। सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको संकटका कारण शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निगमले अनावश्यक रूपमा सवारीसाधन प्रयोग नगर्न अपिल गरेको हो।

निगमका प्रवक्ता मनोज ठाकुरले “बिदा पायौँ भनेर गाडी लिएर घुम्न नजानुस्, जसरी भए पनि इन्धन खपत घटाउनुपर्छ” भन्दै उपभोक्तालाई सचेत गराएका छन्। उनका अनुसार हाल निगमलाई प्रतिलिटर करिब १२० रुपैयाँ घाटा भइरहेको छ।



मन्त्रिपरिषद्को निर्णयअनुसार सोमबारदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन बिदा दिइएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार इन्धन खपत घटाउन दीर्घकालीन रूपमा विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि कानुनी सुधार गर्ने तयारीसमेत गरिएको छ।

निगमका अनुसार नेपालमा दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुने गरेको छ। यस निर्णयको प्रभाव कति पर्छ भन्ने मूल्याङ्कन गर्न केही समय लाग्ने बताइएको छ।

विज्ञको सुझाव

अर्थशास्त्री इसान खरेलले यो निर्णय तत्कालका लागि आवश्यक भए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। उनले इन्धनमा कर घटाउने, सार्वजनिक यातायात प्रवर्द्धन गर्ने र विद्युतीय सवारी विस्तार गर्नुपर्ने सुझाव दिएका छन्।

त्यस्तै, अर्थशास्त्री सन्तोष अधिकारीले हालको अभावका सन्दर्भमा निर्णय उपयुक्त भए पनि थप बिदाले उत्पादकत्व र शिक्षामा असर पर्न सक्ने बताएका छन्।

प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको