ओम प्रकाश यादव
रौतहट, चैत २३ । मौलापुर नगरपालिका–५ गोदावरी चोकस्थित एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ।
आइतबार साँझ भएको आगलागीबाट स्थानीय जगदीश साह को फुसको घर पूर्ण रूपमा जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार साँझ करिब ७ बजेतिर लामखुट्टे भगाउन बालेको घुरबाट अचानक आगो सल्किएको थियो। आगलागी फैलिँदै जाँदा घर पूर्ण रूपमा जलेको हो।
नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय मौलापुरको टोली र स्थानीयवासीको सहयोगमा आगो करिब राति ८ः२० बजे नियन्त्रणमा लिइएको थियो।
घटनामा मानवीय क्षति भने भएको छैन। तर घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र नगद रकम जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घरभित्र रहेका दुई ग्यास सिलिन्डरमध्ये एउटा पड्किएको र अर्कोमा पनि क्षति पुगेको बताइएको छ। आगलागीबाट करिब २ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






