काठमाडौँ, चैत २३ । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्धको अनुसन्धान २६ चैत (बिहीबार) भित्र टुङ्ग्याउन आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको छ। तर तोकिएको समयभित्र अनुसन्धान पूरा नभएमा कानुनी प्रक्रिया पुर्याई थुनामुक्त गर्नुपर्ने आदेश दिएको छ।
अदालतले फौजदारी कार्यविधि संहिता अनुसार प्रक्रिया पूरा गरी हिरासतबाहिर राखेर थप अनुसन्धान गर्न सकिने पनि स्पष्ट पारेको छ।
भदौ २३ मा भएको जेनजी आन्दोलन का क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नगरेको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए।
नेपाल प्रहरी ले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्दै जिल्ला अदालत काठमाडौँको अनुमतिमा उनीहरूलाई हिरासतमा राख्दै आएको छ।






