एजेन्सी, चैत २३ । मध्यपूर्व क्षेत्रमा तनाव चुलिँदै जाँदा डोनाल्ड ट्रम्पले ईरानलाई युद्धविरामका लागि कडा अल्टिमेटम दिएका छन्। उनले मंगलबारसम्म शान्ति सम्झौता नभए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका हुन्।
अमेरिकी राष्ट्रपतिको हैसियतमा ट्रम्पले दिएको उक्त चेतावनीमा ईरानसँग निर्धारित समयभित्र सहमति नभए देशको महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिने उल्लेख छ। यसले अन्तर्राष्ट्रिय स्तरमा युद्ध अपराध ९वार क्राइम० सम्बन्धी बहसलाई समेत तीव्र बनाएको छ।
यसैबीच, ईरान ले पनि कडा प्रतिक्रिया दिएको छ। तेहरानले अमेरिका वा उसका सहयोगी राष्ट्रहरूबाट आक्रमण भए त्यसको जवाफमा इजरायल तथा खाडी क्षेत्रका देशहरूको पूर्वाधारमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले विभिन्न अमेरिकी मिडियालाई दिएको अन्तर्वार्तामा ४८ घण्टाभित्र शान्ति सम्झौता सम्भव भए पनि असफल भए कठोर कदम चालिने बताएका छन्। उनले ईरानको वर्तमान अवस्थालाई कमजोर देखाउँदै थप दबाब सिर्जना गर्ने प्रयाससमेत गरेका छन्।
अमेरिकी पक्षले सम्भावित आक्रमणले ईरानी शासन कमजोर पार्ने दाबी गरे पनि यसबाट सर्वसाधारण नागरिकमा ठूलो मानवीय क्षति हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
पछिल्लो समय अमेरिका र ईरानबीच होर्मुज स्ट्रेट खुलाउने विषयमा परोक्ष वार्ता भइरहे पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन। त्यसैले निकट भविष्यमा युद्धविराम हुने सम्भावना न्यून देखिएको विश्लेषकहरूको भनाइ छ।
मध्यपूर्वमा बढ्दो तनावले क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रमा समेत असर पार्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको छ।






