रुपन्देही, चैत २३ । महाराजगञ्ज नगरपालिका–वरगदामा १५ दिनअघि भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
महाराजगञ्ज–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादव को चितवन मेडिकल कलेज मा उपचारका क्रममा आज निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार चैत ७ गते वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सो क्रममा भीड नियन्त्रण गर्न खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले फायरिङ गरेका थिए।
फायरिङका क्रममा पेटमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि चितवन लगिएको थियो। चिकित्सकका अनुसार प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्थामा सुधार देखिएपछि उनलाई आइसियुबाट सामान्य वार्डमा सारिएको थियो। तर पछि अचानक अवस्था बिग्रिँदा उपचारकै क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंह ले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले यादवलाई लागेको गोली कुन पक्षबाट चलाइएको हो भन्ने विषय अझै स्पष्ट नभएको बताए।
उक्त घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।






