काठमाडौं, चैत २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण सरकारसँग नभएकै कारण रिहा भएको बताएका छन्।
हाजिरी जमानिमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले १३ दिनसम्म आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको आरोप लगाए।
उनले लेखेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि म रिहा भएको छु।”
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गर्दै कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायी, न्यायकर्मी, सञ्चारकर्मी तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्तालाई धन्यवाद दिएका छन्। साथै उनले सर्वोच्च अदालत प्रति पनि उच्च सम्मान प्रकट गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरेको भन्दै उनले प्रहरी प्रशासनप्रति पनि धन्यवाद व्यक्त गरेका छन्। साथै उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल प्रति कृतज्ञता व्यक्त गरेका छन्।
पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उनीहरूको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन्। यदि सरकारले बेवास्ता गरेमा पार्टीले नै खर्च बेहोर्ने उनको भनाइ छ।
उनले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
उल्लेखनीय छ कि जेन–जी आन्दोलनमा दमन गरेको तथा लापरवाहीपूर्वक ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा ओलीलाई चैत १४ गते पक्राउ गरिएको थियो भने आज हाजिरी जमानिमा रिहा गरिएको हो।






