काठमाडौं, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेल ले आर्थिक समृद्धि हासिल गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अत्यावश्यक रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उद्योग, व्यापार र आर्थिक गतिविधिको विस्तार नै मुलुकको समृद्धिको मुख्य आधार भएको उल्लेख गरे।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन जनताले अपेक्षा गरेको आर्थिक समृद्धि र सुशासनतर्फ सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलका अनुसार राजनीतिक स्थिरता आर्थिक विकासको आधार हो। स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र लगानी वृद्धि, औद्योगिक विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने उनले बताए।
उनले युवा पुस्तालाई देशमै अवसर सिर्जना गरी ‘ब्रेन ड्रेन’ रोक्नुपर्ने आवश्यकता औँल्याउँदै उद्यमशीलता, प्रविधि र सिर्जनशीलतालाई आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताए।
राष्ट्रपतिले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा नभई राष्ट्र निर्माणको प्रमुख साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे। उनका अनुसार निजी क्षेत्र सबल भए मात्र देशको अर्थतन्त्र बलियो बन्न सक्छ।
कोभिड–१९ महामारी, आपूर्ति श्रृंखला अवरोध र आर्थिक मन्दीले पारेको असर उल्लेख गर्दै राष्ट्रपति पौडेलले सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।






