लेबनानमाथि आक्रमण नरोकिए अमेरिकासँग वार्ता हुँदैन : इरान

इस्लामाबाद बैठक स्थगित हुने संकेत


एजेन्सी, चैत २७ । इरानले लेबनानमाथि जारी आक्रमण नरोकेसम्म संयुक्त राज्य अमेरिका सँग वार्ता नगर्ने स्पष्ट संकेत दिएको छ। यससँगै पाकिस्तानको राजधानी इस्लामाबाद मा हुने भनिएको दुई देशबीचको बैठक स्थगित हुने सम्भावना बढेको छ।

दुई देशबीच दुई साताको युद्धविराम लागू भए पनि इजरायलले लेबनान माथि आक्रमण जारी राखेकाले कूटनीतिक प्रयास प्रभावित भएको बताइएको छ।

इरानी सरकारी समाचार एजेन्सीका अनुसार, यदि लेबनानमाथिको हमला यथावत् रह्यो भने इस्लामाबादमा तय गरिएको अमेरिका–इरान वार्ता स्थगित हुन सक्नेछ। यसले मध्यपूर्व क्षेत्रमा तनाव कम गर्ने प्रयासमा असर पर्ने चिन्ता बढेको छ।

यसअघि डोनाल्ड ट्रम्प को पहलमा अमेरिका र इरानबीच दुई साताको युद्धविराममा सहमति भएको थियो। उक्त सहमति पछि इस्लामाबादमा वार्ता गर्ने तयारी गरिएको थियो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देशका प्रतिनिधिमण्डललाई स्वागत गर्न तयार रहेको बताएका थिए। तर, लेबनानमाथि जारी आक्रमणका कारण वार्ता अनिश्चित बन्दै गएको छ।

युद्धविरामका बाबजुद इजरायलले आफ्नो आक्रमण नरोक्ने संकेत दिएको छ। उसले अमेरिका–इरान सहमतिमा हिज्बुल्लाह समावेश नभएको भन्दै आफ्नो कदमलाई निरन्तरता दिइरहेको छ।

प्रकाशित मिति: २०८२ चैत्र २७, शुक्रबार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको