काठमाडौं, चैत २७ । रामचन्द्र पौडेलले वर्तमान सरकारलाई संविधानको भावना र जनचाहनाअनुसार काम गर्न आग्रह गर्नुभएको छ। सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले सरकार जनअपेक्षा पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनको १० वर्षे अभ्यासले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारहरू संस्थागत भइसकेको उल्लेख गर्दै अब जनताका चाहना पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो।
उहाँले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई धन्यवाद दिनुभयो। साथै निर्वाचित जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले सुशासन, पारदर्शिता, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय तथा आर्थिक विकासमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। जनताले रोजगारी, विधिको शासन, दण्डहीनताको अन्त्य र स्थायित्व चाहेको उल्लेख गर्दै ती अपेक्षा पूरा गर्न राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो।
उहाँले संसद्ले नागरिक केन्द्रित कानुन निर्माण गर्नुपर्ने र सरकारले त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो। न्यायपालिकाबाट छिटोछरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
राष्ट्रपति पौडेलले युवाहरूका अपेक्षा परिवर्तन हुँदै गएको उल्लेख गर्दै रोजगारीका नयाँ अवसर सिर्जना, शैक्षिक प्रणाली सुधार तथा विदेश पलायन रोक्ने नीति आवश्यक रहेको बताउनुभयो। श्रमको सम्मान र उचित प्रतिफल सुनिश्चित गर्दै निराशा हटाउन सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो।
उहाँले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउँदै नागरिकले सहज रूपमा सेवा पाउने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गर्नुभयो। साथै, अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राख्दै सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकता, सुशासन र आर्थिक समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
सम्बोधनको अन्त्यमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समृद्धिका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो।






