नयाँ दिल्ली, चैत २८ । दिल्ली प्रहरीको स्पेशल सेलले ले ठूलो कारबाही गर्दै दिल्ली र पञ्जाब बाट ११ जना जासूस तथा आतंकी गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू आइएसआई र प्रतिबन्धित संगठन बीकेआइसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार उक्त सञ्जालले संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरू नजिक सोलार पावरबाट चल्ने सीसीटीभी क्यामेरा जडान गरी त्यसको लाइभ फुटेज पाकिस्तानस्थित ह्यान्डलरहरूलाई पठाइरहेको थियो। देशका विभिन्न स्थानमा जडान गरिएका नौ वटा क्यामेरा बरामद गरिएको छ।
अनुसन्धानमा तीन मुख्य पक्ष खुलेका छन्, पहिलो, संवेदनशील क्षेत्रमा क्यामेरा मार्फत जासुसी, दोस्रो, सीमा पारबाट हतियार तस्करी, र तेस्रो, विभिन्न स्थानमा ग्रिनेड आक्रमणको योजना रहेको थियो ।
पक्राउ परेकाहरूबाट चार वटा पिस्तोल, २४ राउण्ड गोली, २४ वटा मोबाइल फोन, साथै तस्करीमा प्रयोग गरिएका दुई कार र दुई मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोपितहरू एन्क्रिप्टेड मोबाइल एपमार्फत सिधै पाकिस्तानस्थित ह्यान्डलर र आईएसआई अपरेटिभसँग सम्पर्कमा थिए। उनीहरूलाई सेना र अर्धसैनिक बलका क्याम्प तथा गतिविधिहरूको फोटो, भिडियो र लोकेसन विवरण संकलन गर्ने जिम्मा दिइएको थियो।
यसअघि पनि मार्च १४ मा गाजियाबादबाट यस्तै प्रकृतिको जासुसी प्रकरण सार्वजनिक भएको थियो, जसमा २१ जनालाई पक्राउ गरिएको थियो। त्यस घटनाबाटै थप अनुसन्धान अघि बढाउँदै यो सञ्जालको भण्डाफोर गरिएको हो।
प्रहरीका अनुसार कपुरथला, जालन्धर, पठानकोट, पटियाला, मोगा, अम्बाला, कठुआ, बीकानेर र अलवर लगायतका स्थानमा क्यामेरा जडान गरी निगरानी गरिएको पाइएको छ।
सुरक्षा निकायले यो सञ्जाल भारतमा ठूलो आतंकी आक्रमणको तयारीमा रहेको आशंका गर्दै थप अनुसन्धान तीव्र पारेको जनाएको छ।






