एजेन्सी, चैत २९ । पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिका ले होर्मुज स्ट्रीटमा सम्भावित बारूदी सुरुङ (माइन) हटाउने ‘हाईटेक’ अभियान सुरु गरेको छ। विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग सुरक्षित बनाउने उद्देश्यसहित यो कदम चालिएको हो।
अमेरिकी सेनाले यस अभियानका लागि अत्याधुनिक युद्धपोत, रोबोटिक ड्रोन (यूयूभी) तथा हेलिकप्टर परिचालन गरेको जनाएको छ। यूएस सेन्ट्रल कमाण्ड अन्तर्गतका गाइडेड मिसाइल विध्वंसक युद्धपोतहरू सुरुङ पत्ता लगाउने र निष्क्रिय पार्ने कार्यमा खटिएका छन्।
अमेरिकाले प्रत्यक्ष जहाज जोखिममा नराखी पानीमुनि चल्ने रोबोटिक ड्रोन प्रयोग गरिरहेको छ। यी ड्रोनहरूले सोनार प्रविधिबाट समुद्री सतहको नक्सा तयार पार्दै लुकेका सुरुङहरू पहिचान गर्छन्।
एमएच–६०एस हेलिकप्टरमा जडान गरिएको लेजर माइन डिटेक्सन प्रणालीले समुद्रको सतह नजिकै रहेका सुरुङहरू पत्ता लगाउन सहयोग पुर्याउँछ। पहिचान भएपछि रिमोट कन्ट्रोल प्रणालीमार्फत साना रोबोट प्रयोग गरी ती सुरुङहरू नष्ट गरिन्छ।
यस अभियानमा संलग्न युद्धपोतहरू सुरुङ हटाउने मात्र नभई समग्र सुरक्षा व्यवस्थामा पनि सक्रिय छन्। अत्याधुनिक ‘एजिस’ प्रणाली र इन्टरसेप्टर मिसाइलहरूले हवाई तथा समुद्री आक्रमणबाट जोगाउने क्षमता राख्छन्।
स्ट्रेट अफ होर्मुज विश्वको प्रमुख तेल आपूर्ति मार्ग हो, जहाँबाट करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुन्छ। पछिल्लो द्वन्द्वका कारण सयौं जहाज प्रभावित भएका छन् भने तेलको मूल्य पनि प्रति ब्यारेल १०० डलर नाघेको छ।
विशेषज्ञहरूका अनुसार यो मार्ग सुरक्षित बनाउनु विश्व अर्थतन्त्रका लागि अत्यन्त आवश्यक छ। अमेरिकी अधिकारीहरूले छिट्टै सुरक्षित समुद्री मार्ग खुला गरिने बताएका छन्।






