काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकता कायम गर्न वर्तमान नेतृत्वले जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरूबीच आगामी रणनीतिबारे छलफल भएको थियो। उक्त छलफलले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै एकताको वातावरण सिर्जना गर्न वर्तमान नेतृत्व सक्रिय हुनुपर्नेमा जोड दिएको हो।
नेता कुन्दनराज काफ्लेले सर्वोच्च अदालतको निर्णयपछि पार्टी कुन दिशामा अघि बढ्ने भन्ने विषयमा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच छलफल सुरु भएको जानकारी दिए। उनले कांग्रेसले विगतमा भोगेका उतारचढाव र वर्तमान अवस्थाबारे पनि गम्भीर समीक्षा गरिएको बताए।
उनका अनुसार पार्टी एकताका लागि सबै नेता तथा कार्यकर्ताको आत्मबल उच्च बनाउन आवश्यक छ। “कांग्रेस एक हुनुपर्छ, त्यसका लागि सबैको मनोबल बलियो हुनुपर्छ,” उनले भने, “क्रियाशील सदस्य संख्या बढ्दै जाँदा पनि मत किन घट्यो भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।”
काफ्लेले जनता किन असन्तुष्ट भए र किन साना दलहरूतर्फ आकर्षित भए भन्ने विषयमा समेत गम्भीर समीक्षा गर्नुपर्ने बताए। यसका लागि पार्टी केन्द्रीय कार्यालय सानेपाले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
उनले पार्टीभित्र खुला छलफलको वातावरण बनाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई समेट्ने पहल आवश्यक रहेको बताए। “सानेपामा गएर कराएर मात्र समाधान हुँदैन, आफ्नो कुरा राख्ने ठाउँ खुला हुनुपर्छ,” उनले भने, “पार्टीमा नमिल्ने कुनै कारण छैन, तर नेतृत्वले जिम्मेवारी लिनुपर्छ।”






