सप्तरी, बैशाख ६ । पोषणको अभावमा कुनैपनि बालबालिका, सुत्केरी र गर्भवती महिला कुपोषित भई जोखिममा नपरोस भन्ने उद्देश्यले सप्तरीको दुई पालिकामा पोषण नेपाल परियोजनाले निशुल्क स्वास्थ्य परिक्षण सञ्चालन गरिएको छ ।
केयर नेपालको सहयोग तथा जनचेतना अभियान नेपाल सप्तरीको साझेदारीमा सप्तरीको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकामा यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
परियोजना अन्तर्गत ६ देखि ५९ महिना सम्मका बालबालिकासंगै गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यकर्मीहरु मार्फत विस्तृत पोषण परिक्षण गरी पहिचान भएका जोखिमयुक्त बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्थामा सुधारका लागि पोषणयुक्त सामाग्री सहितको फुड प्याकेज समेत वितरण थालिएको परियोजनाका कार्यक्रम संयोजक अजेन्द्र कुमार दासले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत आईतबारसम्ममा हनुमाननगर कंकालिनी नगरपालिकामा ४ हजार १५६ बालबालिका तथा ७५५ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गरिएको छ ।
जसमध्ये ७१ जना बालबालिकामा कडा कुपोषण र ३६० जनामा मध्यम कुपोषण देखिएको जनचेतना अभियान नेपालकी कार्यकारी जुही कुमारी ठाकुरले जानकारी दिईन् ।
उक्त पालिकामा ३४० जना गर्भवती तथा सुत्केरी महिलामा परिक्षणका क्रममा पोषणको कमी देखिएको उनले बताईन् । यस्तै कञ्चनरुप नगरपालिकामा ३ हजार ८ सय ३० जना बालबालिका र ८ सय ५९ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गर्दा ३५ जना बालबालिकामा कडा कुपोषण र २२० जनामा मध्यम कुपोषण देखिएको छ ।
उक्त पालिकामा १७९ जना गर्भवती तथा सुत्केरी महिलामा पोषणको कमी देखिएको उनको भनाई छ । यसरी पहिचान गरिएका सबै बालबालिका र गर्भवती तथा सुत्केरी महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानिय अभिभावकहरुको उपस्थितिमा फुड प्याकेज (पोषणयुक्त सामाग्री) वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न दुबै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिक अगुवाले साथ र सहयोग दिईरहेको उनले बताईन् ।
कार्यक्रम प्रभावकारी भएको भन्दै स्थानियले यस्तो कार्यक्रम अन्य पालिकामा समेत विस्तार र सञ्चालन गर्न आग्रह गरेका छन् ।






