काठमाडौं, वैशाख ६। नेपाली कम्युनिष्ट पार्टीले महँगी नियन्त्रण गर्न, सुकुमवासीलाई उठीबास नलगाउन तथा विद्यार्थी संगठनमाथि प्रतिबन्ध नलगाउन सरकारसँग माग गरेको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले देशका विभिन्न स्थानमा सुकुमवासी परिवारलाई उचित विकल्पबिना उठीबास गराउने तथा झुप्रा भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको हो। पार्टीले यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र प्रभावित परिवारका लागि समुचित पुनर्वासको व्यवस्था गर्न आग्रह गरेको छ।
पार्टीका कार्यालय सचिव गणेशमान पुनद्वारा जारी विज्ञप्तिमा सुकुमवासी व्यवस्थापनका नाममा भइरहेका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढाएको उल्लेख गरिएको छ।
त्यस्तै, पार्टीले सरकारलाई लोकतान्त्रिक, उत्तरदायी र समावेशी ढंगले अघि बढ्न सुझाव दिँदै सुकुमवासी, किसान, मजदुर तथा उत्पीडित समुदायप्रति संवेदनशील हुन आग्रह गरेको छ। “जनताको घरबास उजाडेर लोकतन्त्र सुदृढ हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ।
यसैबीच, विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि पार्टीले कडा विरोध जनाएको छ। उक्त कदमलाई संविधानविपरीत र अस्वीकार्य भन्दै पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको जनाएको छ। साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेत उल्लङ्घन हुने चेतावनी दिइएको छ।
पार्टीले नयाँ सरकार गठनपछि बजारमा महँगी र कालोबजारी बढेको दाबी गर्दै तत्काल प्रभावकारी नियन्त्रणका उपाय अपनाउन माग गरेको छ। वर्तमान सरकारबाट जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै सकारात्मक कार्यक्रमको स्वागत गरिए पनि शासन सञ्चालनमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको छ।






