जनकपुरधाम, वैशाख ६ । राष्ट्रिय मुक्ति पार्टी नेपालले नेपाल–भारत सीमामा हालै लागू गरिएको भन्सार तथा करसम्बन्धी सीमा नीतिप्रति आपत्ति जनाउँदै त्यसलाई पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।
पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार प्रक्रियालाई कडाइ गरिएको विषयले नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा नकारात्मक असर पारेको दाबी गरिएको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरू दैनिक उपभोग तथा रोजगारीका लागि भारतमा निर्भर रहेको भन्दै यस्तो नीतिले आम जनजीवन प्रभावित भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा सीमामा साना व्यापारी तथा सर्वसाधारणले बोकेका सामानमा कडाइ गरिए पनि ठूला सवारी साधन तथा प्रभावशाली समूहसँग सम्बन्धित गतिविधिमा समान निगरानी नहुने आरोपसमेत लगाइएको छ। साथै, सीमामा हुने जाँच प्रक्रियामा अनियमितता र ‘सेटिङ’ मार्फत अवैध कारोबारलाई सहज बनाइने गरेको दाबी पनि गरिएको छ।
पार्टीका अनुसार नेपाल–भारतबीचको ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई कमजोर पार्ने गरी बनाइएका नीतिहरू दीर्घकालीन रूपमा गलत हुने भएकाले तत्काल सच्याउन आवश्यक छ। विज्ञप्तिमा सरकारको नीति जनताको हित विपरीत रहेको उल्लेख गर्दै संशोधन गर्न माग गरिएको छ।
अन्त्यमा, राष्ट्रिय मुक्ति पार्टी नेपालले वर्तमान नीतिका कारण जनजीवनमा देखिएको असरप्रति सरकार गम्भीर बन्नुपर्ने र सीमा क्षेत्रमा सहज आवागमन तथा व्यापार सुनिश्चित गर्न आग्रह गरेको छ।






