जनकपुरधाम, वैशाख ६। समाजवादी युृवा संघले सीमा क्षेत्रमा साना परिमाणका वस्तुहरूमा भन्सार शुल्क लगाउने नेपाल सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा रु. १०० भन्दा माथिका वस्तुमा भन्सार शुल्क लगाउने निर्णयले विशेषगरी मधेस क्षेत्र तथा भारत–नेपाल सीमावर्ती समुदायबीच कायम सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धमा नकारात्मक असर पार्ने जनाएको छ।
विज्ञप्तिमा नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेसीलगायत समुदायबीच दैनिक जीवन, पारिवारिक सम्बन्ध, परम्परा तथा सांस्कृतिक आदान–प्रदान घनिष्ठ रहेको उल्लेख गर्दै साना परिमाणका वस्तुको आवतजावतमा कर लगाउनु ऐतिहासिक सम्बन्धमाथि अनावश्यक अवरोध सिर्जना गर्ने उल्लेख गरिएको छ।
संघले उक्त निर्णय तत्काल खारेज गर्न सरकारसमक्ष माग राख्दै सीमा क्षेत्रमा हुने ठूला परिमाणका तस्करी, भ्रष्टाचार तथा अवैध भन्सार छुट प्रक्रियालाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। साथै, स्थानीय जनताको परम्परा र सांस्कृतिक सम्बन्धलाई सम्मान गर्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमा निर्णय सच्याउन ढिलाइ भए मधेसी समुदाय तथा युवासँग सहकार्य गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि दिइएको छ।
संघका अध्यक्ष मनिष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा हजारौं वर्षदेखि कायम सामाजिक तथा सांस्कृतिक सम्बन्धको सम्मान गर्दै जनभावना अनुरूप निर्णय सच्याउन सरकारसँग आग्रह गरिएको छ।






