होर्मुज जलडमरूमध्यमा तनाव बढ्दो, ईरानद्वारा पूर्ण नियन्त्रणको दाबी



एजेन्सी, वैशाख ६। ईरान र संयुक्त राज्य अमेरिका बीच होर्मुज जलडमरूमध्यमा तनाव झन् चर्किएको छ। ईरानले उक्त समुद्री मार्ग आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गर्दै अमेरिका विरुद्ध कडा चेतावनी दिएको छ।

ईरानी संसदका अध्यक्ष मोहम्मद बगेर गालिबफ ले होर्मुज जलडमरूमध्य तेहरानको नियन्त्रणमा रहेको दोहोर्‍याउँदै अमेरिकी नाकाबन्दी जारी रहे जहाज आवागमन पूर्ण रूपमा रोक्न सकिने चेतावनी दिएका छन्। उनका अनुसार अब उक्त मार्गबाट हुने आवागमन ईरानको अनुमति अनुसार मात्र सञ्चालन हुनेछ।



यसैबीच, ईरानी सैन्य संरचना इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी० ले पनि जलडमरूमध्यमा कडा नियन्त्रण कायम गरिएको जनाएको छ। अमेरिकाले लगाएको नाकाबन्दीलाई युद्धविराम उल्लंघनको रूपमा लिँदै ईरानले आफ्नो समुद्री उपस्थितिलाई अझ सुदृढ बनाएको बताइएको छ।

समाचार स्रोतहरूका अनुसार शनिबार होर्मुज हुँदै गुज्रिन खोजेका दुईवटा व्यावसायिक जहाजमाथि ईरानी गनबोटले फायरिङ गरेको थियो, जसपछि धेरै जहाजहरूले मार्ग परिवर्तन गरेका छन्। घटनाले अन्तर्राष्ट्रिय व्यापार तथा तेल आपूर्तिमा असर पर्ने चिन्ता बढाएको छ।

यसअघि ईरानले जलडमरूमध्यलाई व्यावसायिक जहाजका लागि खुला गरिएको घोषणा गरेको थियो भने डोनाल्ड ट्रम्प ले समेत होर्मुज पूर्ण रूपमा सञ्चालनमा रहेको बताएका थिए। तर पछिल्लो घटनाक्रमले पुनः अनिश्चितता बढाएको छ।

यता ईरानले अमेरिकाबाट आएका नयाँ प्रस्तावहरूको समीक्षा भइरहेको जनाएको छ। साथै, कुनै पनि दबाबमा सम्झौता नगर्ने अडान लिँदै आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने स्पष्ट पारेको छ।

उक्त विवादमा पाकिस्तान मध्यस्थकर्ताको भूमिकामा देखिएको छ। इस्लामाबादमा भएको प्रारम्भिक वार्ता भने कुनै ठोस निष्कर्षबिना टुंगिएको जनाइएको छ।

प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको