गृहमन्त्री गुरुङमाथि छानबिनको माग, जेनजी मुभमेन्टद्वारा बर्खास्ती र पक्राउको आग्रह



जनकपुरधाम, वैशाख ७ । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुदन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै उनलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न सरकारसँग आग्रह गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस विज्ञप्तिमा मन्त्री पदमा रहँदा निष्पक्ष अनुसन्धान प्रभावित हुन सक्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “पदमै रहेर अनुसन्धान गर्न कठिन हुन्छ, जसले न्यायिक प्रक्रियामा नै गम्भीर प्रश्न उठाउँछ।”



जेनजी मुभमेन्टले सरकारलाई जिम्मेवार र पारदर्शी निर्णय लिन पनि आग्रह गरेको छ। “मन्त्री नियुक्ति सामान्य विषय होइन, यसमा नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, मुभमेन्टले देशमा आएको परिवर्तन जनताको बलिदानबाट सम्भव भएको स्मरण गराउँदै आरोपित जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने जोड दिएको छ। “पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई उन्मुक्ति दिनु हुँदैन,” विज्ञप्तिमा भनिएको छ।
जेनजी मुभमेन्टले सरकारलाई निष्पक्ष, स्वतन्त्र र दबाबरहित छानबिन प्रक्रिया अघि बढाउन आग्रह गर्दै दोषी प्रमाणित भए कानुनी कारबाही गर्न चेतावनी दिएको छ।

प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको