सुर्खेत, वैशाख ७ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन्।
घिसिङले कर्णाली जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा इन्धनको मूल्यवृद्धिले जनजीवनमा थप भार परेको बताए। उनका अनुसार यस क्षेत्रको यातायात, पर्यटक आवागमन तथा दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा समेत प्रत्यक्ष असर परेको छ।
“कर्णाली आफैँमा खर्चिलो भूगोल हो। यस्तो अवस्थामा पेट्रोल, डिजेल र ग्यासजस्ता इन्धनमा मूल्यवृद्धि गर्नु उचित होइन,” उनले भने, “भारतजस्ता छिमेकी मुलुकले समेत स्थिर मूल्य नीति अपनाइरहेका बेला सरकारले पनि नागरिकलाई राहत दिनुपर्छ।”
उनले सरकारलाई मूल्य समायोजन गर्दै स्तरीकरण नीति अपनाउन आग्रह गरे। साथै, वर्तमान सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टीले सहयोग गर्ने पनि उनले बताए।
घिसिङले आफ्नो नेतृत्वमा विद्युत् प्राधिकरणमा रहँदा कर्णाली क्षेत्रको विद्युतीकरण र प्रसारण लाइन विस्तारमा उल्लेखनीय काम भएको दाबी गरे। उनका अनुसार करिब ३५ अर्ब रुपैयाँको लगानी सुनिश्चित गरिएको छ भने १३२ केभी प्रसारण लाइन जुम्लासम्म विस्तार भइरहेको छ।
पार्टी संगठनबारे बोल्दै उनले छोटो समयमा गठन भएको कारण व्यवस्थापनमा चुनौती भए पनि आगामी चुनावमा उनेपा ठूलो राजनीतिक शक्ति बनेर उदाउने दाबी गरे। साथै, वडा तहसम्म संगठन विस्तारलाई तीव्रता दिइने उनको भनाइ छ।






