जनकपुरधाम, वैशाख ७ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले गम्भीर नैतिक संकटमा परेको चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। पार्टीले अघिल्लो समयमा श्रममन्त्री दिपक कुमार साहलाई विवादका कारण फिर्ता बोलाएको घटनापछि अहिले गृहमन्त्री सुदन गुरुङ्गमाथि पनि त्यस्तै कदम चाल्ने हो कि भन्ने प्रश्न उठ्न थालेको छ।
गृहमन्त्री गुरुङ्गको व्यवसायिक सम्बन्ध सम्पत्ति शुद्धिकरण अनुसन्धानको क्रममा पक्राउ परेका दिपक भट्ट र शंकर समूहसँग रहेको आरोप सार्वजनिक भएपछि उनीमाथि छानबिनको माग बढेको छ। विभिन्न पक्षले यस विषयलाई गम्भीर रूपमा लिँदै पारदर्शिताको माग गरेका छन्।
यसैबीच, जेनजी मुभमेन्टले बिहानै प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ। आन्दोलनकारी समूहले सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धानको आवश्यकता औंल्याएको छ।
यता, गृहमन्त्री गुरुङ्गमाथि सम्पत्ति विवरणमा २५ लाख रुपैयाँभन्दा बढीको शेयर लुकाएको आरोप समेत लागेको छ। साथै, सेतोपाटी अनलाइनमा प्रकाशित समाचार अनुसार उनले जेनजी आन्दोलनपछि मात्रै ५० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद गरेको दाबी गरिएको छ।
गुरुङ्ग ‘हामी नेपाली’ संस्थाका संस्थापक पनि रहेका कारण उनीमाथि एकपछि अर्को विवाद सार्वजनिक भएपछि राजनीतिक दबाब बढ्दै गएको देखिन्छ। यस घटनाले रास्वपाभित्र गम्भीर बहस सिर्जना गरेको छ।
यसैबीच, सामाजिक सञ्जालमा नागरिकहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। केही प्रयोगकर्ताले “मधेशीलाई राइट टु रिकल र गोर्खालीलाई राइट टु रिल्याक्स” जस्ता टिप्पणी गर्दै सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका छन्।
हाल रास्वपाले यस विषयमा आधिकारिक निर्णय नदिएको भए पनि बढ्दो दबाबका कारण पार्टी नेतृत्व के कदम चाल्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।






