विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति नेता खड्काको आपत्ति



काठमाडौं, वैशाख ९ । पूर्णबहादुर खड्काले विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

आज जारी विज्ञप्तिमा उनले उक्त निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको संकेत भएको बताएका छन्। नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीहरूको योगदान अविस्मरणीय रहेको बताए।

उनका अनुसार निर्दलीय पञ्चायती व्यवस्थाका समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा पनि विद्यार्थी संगठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाउने काम गरेका थिए। विसं २०३६र३७ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन र २०६२र६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान व्यवस्था स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरेका छन्।

नेता खड्काले वर्तमान सरकारले लोकतान्त्रिक अभ्यासबाट उदाएका बालेन शाह जस्ता युवा नेतृत्व स्थापित हुने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण भएको टिप्पणी गरेका छन्।

विद्यार्थी संगठनहरूलाई उनले केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने वैधानिक निकायका रूपमा व्याख्या गरेका छन्।

उनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी संगठनहरूको गरिमा कायम राख्न आग्रह गरेका छन्। अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको