वामपन्थी पुनर्गठनमा प्रचण्डको जोड, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दीको आह्वान



काठमाडौं, वैशाख ९ । पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र शान्ति सम्झौता पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी आवश्यक रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध अझ आक्रामक बन्दै गएको उल्लेख गरे। यस्तो अवस्थामा लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियाका पक्षधर सबै शक्तिहरू एकजुट हुनुपर्नेमा उनले विशेष जोड दिएका छन्।



प्रचण्डका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन अहिलेको मुख्य आवश्यकता हो। उनले समाजवाद र साम्यवादको लक्ष्य बोकेका सम्पूर्ण वामपन्थी शक्तिहरूबीच एकता कायम गरेर समतामूलक समाज निर्माण गर्नुपर्ने बताएका छन्।

उनले जनआन्दोलन र सशस्त्र संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा र विकासका लागि पनि व्यापक मोर्चाबन्दी अपरिहार्य रहेको उल्लेख गरे। साथै, समाजमा अझै पनि शोषण, दमन र विभेद कायम रहेकाले कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त नभएको उनको भनाइ छ।

वि।सं। २००६ साल वैशाख ९ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामन्तवाद र साम्राज्यवादविरुद्ध जनताको अधिकार स्थापित गर्ने लक्ष्य राखेको स्मरण गर्दै प्रचण्डले वर्तमान सन्दर्भमा लेनिनका विचारहरू अझ सान्दर्भिक बन्दै गएको उल्लेख गरे।

उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्न सबै कम्युनिष्ट शक्तिहरूलाई विगतको समीक्षा, वैचारिक संश्लेषण र एकताको आधारमा पुनर्गठन प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको