सरकारी विज्ञापन नीतिप्रति जसपा नेपालको आपत्ति , निर्णय फिर्ता लिन माग



जनकपुरधाम, वैशाख १० । जनता समाजवादी पार्टी, नेपालले सरकारद्वारा ल्याइएको सरकारी विज्ञापन सम्बन्धी नीतिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना तथा विज्ञापन प्रकाशन–प्रसारण गर्ने निर्णय लोकतन्त्रको मर्म विपरीत रहेको उल्लेख गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको यस्तो निर्णयले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने पार्टीको ठहर छ।



विज्ञप्तिमा भनिएको छ ‘निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रयासले मिडियाको आर्थिक अवस्था कमजोर बनाउनेछ, जसले दीर्घकालमा स्वतन्त्र पत्रकारिता र नागरिकको सूचना पाउने अधिकारमा नकारात्मक प्रभाव पार्न सक्छ।’

पार्टीले सरकारलाई यस्तो निर्णय सच्याउन, सबै प्रकारका सञ्चारमाध्यमलाई समान रूपमा व्यवहार गर्न तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै सञ्चार क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग परामर्श गरेर मात्र नीतिगत निर्णय लिनु सरकार संग आग्रह समेत गरेको छ ।

जनता समाजवादी पार्टीले लोकतान्त्रिक मूल्यमान्यता, प्रेस स्वतन्त्रता र बहुलवादको संरक्षण गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्दै विवादास्पद निर्णय तत्काल खारेज गर्न पुनः माग गरेको छ।

प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार १४:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको