एजेन्सी, वैशाख १० । मध्यपूर्वमा बढ्दो तनाव र होर्मुज स्ट्रीटमा नाकाबन्दीको अवस्था सिर्जना भइरहेका बेला अमेरिकी नौसेनाका शीर्ष नागरिक अधिकारी, नौसेना सचिव जाँन फेलनले पदबाट राजीनामा दिएका छन्। यो घटनालाई ट्रम्प प्रशासनका लागि ठूलो झट्काका रूपमा हेरिएको छ।
पेन्टागनले बुधबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा फेलनले तत्काल प्रभावबाट पद छोडेको जानकारी दिएको छ। तर राजीनामाको ठोस कारण भने खुलाइएको छैन। पेन्टागनका प्रवक्ता सेन पार्लेनले सामाजिक सञ्जालमार्फत उनको सेवाप्रति धन्यवाद व्यक्त गरेका छन्।
फेलनको यो अप्रत्याशित निर्णय त्यही दिन आएको हो, जब उनले वासिङ्टन डीसीमा आयोजित नौसेनाको वार्षिक सम्मेलनमा सम्बोधन गर्दै आफ्नो कार्ययोजनाबारे जानकारी दिएका थिए।
यो राजीनामा त्यतिबेला आएको हो, जब इरान सँगको तनाव, नाजुक युद्धविराम र होर्मुज स्ट्रिटमा नाकाबन्दीको अवस्था विश्व सुरक्षाका लागि चुनौतीपूर्ण बनिरहेको छ। यसले अमेरिकी सैन्य नेतृत्व र रणनीतिमाथि समेत प्रश्न उठाएको विश्लेषकहरूले बताएका छन्।
यसअघि पनि रक्षा सचिव पेटे हेगसेटले केही साताअघि सेना प्रमुख रयाण्डी गोर्गेलाई पदमुक्त गरेका थिए। ट्रम्प प्रशासनले पछिल्लो समय उच्च सैनिक अधिकारीहरूलाई हटाउने क्रम बढाएको देखिन्छ, तर अधिकांश निर्णयहरूको कारण सार्वजनिक गरिएको छैन।
फेलन ट्रम्पको चुनावी अभियानका प्रमुख दातामध्ये एक मानिन्छन्। उनले निजी लगानी कम्पनी रगर म्यानेजमेन्ट एलएलसी स्थापना गरेका थिए। साथै, उनी स्प्रिट अफ अमेरिका नामक गैर(नाफामुखी संस्थामा सल्लाहकारका रूपमा पनि कार्यरत थिए, जसलेयुक्रेन र ताइवानको सुरक्षामा सहयोग गर्दै आएको छ।
फेलनको राजीनामाले अहिलेको संवेदनशील अन्तर्राष्ट्रिय परिस्थितिमा अमेरिकी रक्षा संयन्त्रभित्रको स्थिरता र रणनीतिक दिशाबारे थप बहस सुरु गराएको छ।






