काठमाडौँ, वैशाख १०। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि औपचारिक रूपमा निर्वाचन प्रक्रिया सुरु गरेको छ।
पार्टीद्वारा गठन गरिएको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वको समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो।
कार्यतालिका अनुसार आज मतदाता नामावली सार्वजनिक गरिएको छ भने वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने तय गरिएको छ।
समितिका अनुसार पार्टीभित्र सहमतिबाटै नेता चयन गर्ने प्रयास भइरहेको भए पनि सहमति नजुटे निर्वाचनमार्फत नै अन्तिम निर्णय हुने तयारी गरिएको छ।
दलको नेतामा सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन्। त्यस्तै, मोहन आचार्य लगायत अन्य नेताहरूको पनि चर्चा भइरहेको छ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ सांसद रहेका छन्। आन्तरिक विवाद र सहमति अभावका कारण दलको नेता चयन प्रक्रिया ढिलाइ हुँदै आएको भए पनि पछिल्लो निर्णयसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।
प्रमुख प्रतिपक्षी दल भएकाले संसदीय दलको नेताको चयन संवैधानिक परिषद् लगायतका महत्वपूर्ण निकायमा प्रतिनिधित्वसँग पनि जोडिएको छ।






