सप्तरी, बैशाख १० । रोजगारीका लागि गाउँकै एक साथी संग भारतको उत्तरप्रदेश राज्य स्थित बनारस शहर गएका एक युवा बेपत्ता भएको २० दिनपछि विहीबार भेटिएका छन् । तर, १२ दिन अघि बेपत्ता भएका एक युबक अझै भेटिएका छैनन् ।
सप्तकोशी नगरपालिका २ सिद्धिपुर टोलका ४३ बर्षीय बिरेन्द्र राम परिवारजन संग सम्पर्क बिहीन भएका हुन् । घरका अभिभावक नै सम्पर्क बिहीन भएपछि परिवारजन चिन्तामा डुबेका छन् ।
परिवारजनले रामको हुलिया विवरण सहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिदै खोज तलाशका लागि आग्रह गरेका छन् ।
पेशाले सवारी चालक रहेका राम एकबर्ष अघि भएको दुर्घट्नामा गम्भिर घाईते भएका थिए । त्यसपछि उनले चालक पेशा त्यागेका थिए । स्वास्थ्य लाभ भएपछि मजदुरी पेशामा लागेका राम अचानक बेपत्ता भएपछि आफु सहित ३ सन्तानको विच्चली भएको धर्मपत्नी मजा देवीले सुनाईन् ।
वडाध्यक्ष जाहिर हुसेनले सबैतिर खोजी सक्दा पनि राम अझै फेला पर्न नसकेको र आफुहरु समेत खोजी कार्यमा निरन्तर जुटेको बताएका छन् । यता रोजगारीका लागी बनारस पुगेर बेपत्ता भएका सप्तरीको खडक नगरपालिका ११ का ३० बर्षीय विनोद कुमार साह बिहीबार सम्पर्कमा आएको बुवा रामकृष्ण साहले जानकारी दिएका छन् ।
बनारसमा बेपत्ता भएका छोराको खोजी कार्यका लागि सोही ठाउँ स्थित भारतीय पुलिस कार्यालय तथा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिएको २० दिनपछि छोरा विनोद फेला परेको बुवा रामकृष्णले जानकारी दिए । भारतको बनारसमा पहिल्यै देखि नै काम गर्दे आएका गाउँकै राधेश्याम यादवले छोरा विनोदलाई “फ्याक्ट्रीमा काम लगाई दिन्छु” भन्दै लिएर गएको र बनारसमा अलपत्र छाडेको बुवा रामकृष्णले सुनाए ।
छोरालाई फ्याक्ट्रीमा काम लगाई दिने नाममा १८ हजार भारतीय रुपैयाँ समेत आफु संग लिएर गएका राधेश्यामले छोरालाई त्यहाँ अलपत्र छाडेर हिडेको उनले बताएका छन् । घाइते अवस्थामा फेला परेको छोरा विनोदलाई भारतीय प्रहरीको सहयोगमा उद्दार गरी अस्पताल भर्ना गरिएको उनले जनाएका छन् ।
उनले छोरालाई लिएर जाने राधेश्याम भने सम्पर्क बिहीन भएको र उनी विरुद्ध तत्काल भारतीय प्रहरीमा उजुरी गरिएको जानकारी समेत गराएका छन् ।






