रवि लामिछानेको मुद्दा ‘क’ नम्बरमा राखिएकोमा प्रश्न, सुनुवाइ स्थगित



काठमाडौँ, वैशाख १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको अभियोग संशोधनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बिहीबारका लागि तोकिएको सुनुवाइ स्थगित गरिएको छ। महान्यायाधिवक्ता कार्यालयको पहलमा पेशी स्थगन भएको हो।

सर्वोच्च अदालतका न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल को इजलासमा मुद्दाको सुनुवाइका लागि पालो परेको थियो। यसअघि उक्त विषयमा दर्ता भएका तीन छुट्टाछुट्टै रिट निवेदनमाथि संयुक्त इजलासका न्यायाधीशहरूले गम्भीर कानुनी प्रश्न उठाउँदै मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएका थिए।



तर, सरकारी पक्षबाटै पेशी स्थगनको निवेदन आएपछि सुनुवाइ अघि बढ्न सकेन। यसैक्रममा इजलासमा उपस्थित वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र टीकाराम भट्टराई ले मुद्दाको प्राथमिकतामाथि प्रश्न उठाएका थिए।

उनीहरूको जिज्ञासा थियो—इजलासले अग्राधिकार दिन आदेश नगरेको अवस्थामा पनि लामिछानेको मुद्दा ‘क’ नम्बरमा राखिनु सर्वोच्च अदालतको नियमावलीअनुसार हो कि होइन रु तीन वर्षदेखि विचाराधीन अन्य मुद्दा पछि पारेर केही महिनाअघिको मुद्दालाई ‘क’ नम्बरमा राखिनुले न्यायिक प्रक्रिया नै शंकास्पद बन्ने उनीहरूको भनाइ थियो।

सामान्यतः अग्राधिकार प्राप्त मुद्दा, बन्दी प्रत्यक्षीकरण, जेष्ठ नागरिकसँग सम्बन्धित मुद्दालाई ‘क’ वा ‘ख’ नम्बरमा राख्ने प्रचलन रहेको छ। तर, उक्त मापदण्ड बाहिर गएर लामिछानेको मुद्दा प्राथमिकतामा राखिएको भन्दै कानुन व्यवसायीहरूले आपत्ति जनाएका छन्।

इजलासले उठेका प्रश्नहरूबारे आवश्यक छलफल गर्ने जनाएको छ भने मुद्दाको अर्को पेशी कहिले तोकिने भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।

प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको