कांग्रेस संसदीय दलको नेता आज चयन हुँदै



काठमाडौं, वैशाख ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।

बिहीबारदेखि सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज मध्याह्न उम्मेदवारी दर्ता र अपराह्न मतदान गर्ने कार्यतालिका तय गरिएको छ। यद्यपि, पार्टीले सहमतिकै आधारमा नेता चयन गर्ने प्रयास जारी राखेको जनाएको छ। सहमति हुन नसके निर्धारित कार्यतालिका अनुसार मतदानबाटै दल नेता चयन गरिनेछ।



यस विषयमा सांसदहरूसँग छलफल गर्न महामन्त्री प्रदीप पौडेल लगायत नेताहरूलाई जिम्मेवारी दिइएको छ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य दाबेदारका रूपमा रहेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०७९ मा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३८ सिट जितेको थियो।

पार्टीभित्र प्रत्यक्षतर्फ निर्वाचित सांसदलाई दल नेता बनाउनुपर्ने आवाज पनि उठेको छ। केसी र आङ्देम्बे भने समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।

यसैबीच, पार्टीको विशेष महाधिवेशनले रूपान्तरण र पुस्तान्तरणको सन्देश दिएको भन्दै युवा नेताहरूलाई नेतृत्वमा ल्याउनुपर्ने मत पनि बलियो बन्दै गएको छ। सोही सन्दर्भमा योगेश गौचन थकाली, निश्कल राई र बासना थापा लाई सम्भावित आकांक्षीका रूपमा हेरिएको छ।

यद्यपि, वरिष्ठ नेतालाई दल नेता बनाउने र युवा सांसदलाई प्रमुख सचेतक तथा सचेतकको जिम्मेवारी दिने विकल्पमा समेत आन्तरिक छलफल भइरहेको बताइएको छ।

पार्टी स्रोतका अनुसार उम्मेदवारी दर्ता अघि सम्म पनि सहमतिको प्रयास जारी रहनेछ। सहमति नभए प्रतिस्पर्धाबाटै दल नेता चयन गरिनेछ, जुन अभ्यास कांग्रेसले २०६४ सालपछिका निर्वाचनहरूमा अपनाउँदै आएको छ।

प्रकाशित मिति: २०८३ बैशाख ११, शुक्रबार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको