सप्तरी, वैशाख ११ । नेकपा एमालेका यूवा नेता एवं समाजसेवी रंजित कुमार भगतले पार्टी परित्याग गरेका छन । शुक्रबार जिल्ला अध्यक्ष ताराकान्त चौधरीलाई लिखित पत्र बुझाएर उनले राजीनामा दिएको जानकारी गराएका हुन् ।
सप्तरीको रुपनी गाउँपालिका ६ निवासी ४० वर्षिय भगत एमालेको रुपनी गाउँपालिकाको सचिव पदको जिम्मेवारीमा थिए । यसअघि उनी नेकपा एमाले निकटको राष्ट्रिय यूवा संघ सप्तरीको उपाध्यक्ष पदको जिम्मेवारी समेत बहन गरेका थिए ।
पार्टी संगठन भित्र चरम गुटबन्दी भएको, नेतृत्वले कार्यकर्ताको उचित मुल्याङन नगरी काखापाखा गरेको, भावनात्मक एवं व्यवहारिक एकताको अभाव देखिएको, योग्यता र क्षमताको मुल्याङन नहुने गरेको लगायतका गलत प्रवृतीका कारण उक्त पार्टीमा बसेर काम गर्न सक्ने अवस्था नरहेकोले आफूले राजीनामा दिएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन् ।
उनले पार्टी भित्र आन्तरिक लोकतन्त्रको अभाव भएको समेत राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले आफ्नो राजीनामा स्वभिमानको लडाई र भोलीका पुस्ताको उज्जवल भविष्यको निम्ति भएको जनाएका छन् ।
उनको पार्टी परित्याग घोषणाले एमालेलाई यस क्षेत्रमा ठूलो घाटा पु¥याउने राजनीतिक विश्लेषकहरुको भनाई छ । भगतले नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्ने बताएका छन् । उनी रास्वपामा प्रवेश गर्ने चर्चा चलेको छ । यद्दपी उनले आगामी राजनीतिक यात्राको सुरुवात सम्पूर्ण साथीभाई र शुभचिन्तकको सल्लाह सुझाव अनुसार गर्ने स्पष्ट पारेका छन् ।






