एजेन्सी, वैशाख २१ । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज हुँदैछ। असम, केरल, तामिलनाडु, पश्चिम बंगाल र पुडुचेरीका नतिजा क्रमशः सार्वजनिक हुनेछन्।
यीमध्ये सबैभन्दा बढी ध्यान पश्चिम बंगालतर्फ केन्द्रित भएको छ, जहाँ सत्तारुढ दल र विपक्षीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। विभिन्न एग्जिट पोलहरूले तृणमूल कांग्रेस (टिएमसी) र भारतीय जनता पार्टी (भाजपा)बीच कडा टक्कर हुने देखाएका छन्।
पश्चिम बंगाल विधानसभा अन्तर्गत २९४ सिटमध्ये २९३ सिटको मतपरिणाम आज आउनेछ भने एक सिटमा पुनः मतदानका कारण नतिजा पछि सार्वजनिक हुनेछ। यहाँ बहुमतका लागि १४८ सिट आवश्यक पर्छ। टिएमसी नेतृ ममता बनर्जी पछिल्ला १५ वर्षदेखि सत्तामा रहँदै आएकी छन् भने भाजपा यसपटक सत्ता परिवर्तनको प्रयासमा रहेको छ।
अन्य राज्यतर्फ, असममा १२६ सिटमध्ये बहुमतका लागि ६४ सिट आवश्यक छ। मुख्यमन्त्री हेमन्त विश्व शर्मा ले आफ्नो दलले पुनः जित हासिल गर्ने दाबी गरेका छन्, जबकि विपक्षीले सत्ता फिर्ताको दाबी गरिरहेका छन्।
केरल (१४) सिट मा युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (यूडीएफ) र लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडिएफ)बीच प्रतिस्पर्धा देखिएको छ। अधिकांश एग्जिट पोलहरूले यूडीएफलाई अगाडि देखाएका छन्।
त्यस्तै, २३४ सिट रहेको तामिलनाडुमा द्रविड़ मुनेत्र कषगम (डिएमके) गठबन्धन अग्रस्थानमा रहने अनुमान गरिएको छ। नयाँ शक्तिको रूपमा अभिनेता विजय को सहभागिताले पनि चुनाव रोचक बनेको छ।
पुडुचेरी (३०) सिट मा बहुमतका लागि १६ सिट आवश्यक पर्छ। यहाँ अधिकांश एग्जिट पोलहरूले भाजपा नेतृत्वको गठबन्धन पुनः सत्तामा आउने संकेत गरेका छन्।
समग्रमा, विभिन्न एग्जिट पोलहरूले फरक–फरक प्रक्षेपण गरे पनि सबै राज्यमा प्रतिस्पर्धा कडा हुने देखिएको छ, विशेषगरी पश्चिम बंगालको नतिजा सबैभन्दा चासोको विषय बनेको छ।






