काठमाडौं, वैशाख २२। काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको आकस्मिक बाढीमा फसेका ८९ जना यात्रुको सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
सोमबार राति अचानक आएको बाढीका कारण माइक्रोबससहित बीच खोलामा यात्रुहरू अलपत्र परेका थिए। घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तत्काल परिचालन भई उद्धार कार्य सञ्चालन गरेको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर गन्तव्यतर्फ पठाइएको छ। उद्धारका लागि डोरी र र्याफ्टिङ बोट प्रयोग गरिएको थियो।
उद्धार कार्यमा जिल्ला प्रहरी प्रमुख शाहसहित सशस्त्र प्रहरी बल १५ नम्बर गणका प्रमुख एसपी माधव रेग्मी, नेपाली सेना तथा अन्य सुरक्षाकर्मीको सक्रिय सहभागिता रहेको थियो।
यस्तै, अविरल वर्षासँगै आएको बाढीका कारण बीपी राजमार्गका विभिन्न स्थानमा क्षति पुग्दा सवारी आवागमन प्रभावित बनेको छ।
यसैबीच, काभ्रेपलाञ्चोककै श्रीखण्डपुर क्षेत्रमा बाढीका कारण फसेको स्कुल बसबाट ३५ जना विद्यार्थीको पनि सकुशल उद्धार गरिएको छ। उनीहरूलाई सशस्त्र प्रहरी बलको टोलीले सुरक्षित स्थानमा ल्याएको जनाएको छ।






