काठमाडौं, वैशाख २२ । विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएई सहभागी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको मैदानमा बिहान ९ः३० बजे सुरु हुने खेलमा नेपाल जित निकाल्दै अघिल्लो हारको बदला लिने योजनामा छ। यसअघि ओमानसँग भएको भेटमा नेपाल १०२ रनले पराजित भएको थियो।
यसैबीच क्यानले दर्शकको उपस्थिति बढाउने उद्देश्यले टिकट दर ४०० रुपैयाँबाट घटाएर २०० रुपैयाँ निर्धारण गरेको छ।
जारी सिरिजमा नेपालले यूएईलाई दुवै खेलमा पराजित गरे पनि ओमानविरुद्ध भने एक खेल गुमाएको थियो। त्यसैले आजको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँसमेत बनेको छ।
अघिल्लो खेलमा नेपालले नियमित ओपनर कुशल भूर्तेल र आसिफ शेखलाई विश्राम दिँदै अर्जुन कुमाल र विनोद भण्डारीलाई ओपनिङमा उतारेको थियो। सो खेलमार्फत कुमालले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए भने भण्डारी लामो समयपछि टोलीमा फर्किएका थिए।
कुमालले २२ बलमा ११ रन बनाउँदा भण्डारीले ७९ बलमा ५६ रनको योगदान दिएका थिए। आजको खेलमा कुन ओपनिङ जोडी मैदान उत्रिने भन्ने टसपछि मात्र स्पष्ट हुनेछ।
अंकतालिकातर्फ २७ खेलबाट १४ जित र १० हारसहित ३१ अंक जोडेको ओमान तेस्रो स्थानमा छ। नेपाल भने २३ खेलमा ७ जित र १४ हारसहित १६ अंकका साथ सातौं स्थानमा छ। यूएई २४ खेलबाट १४ अंकसहित तालिकाको पुछारमा रहेको छ।
यसैबीच, मे १२ देखि नेपाल, स्कटल्याण्ड र अमेरिकाबीचको अर्को सिरिज पनि सोही मैदानमा सञ्चालन हुने तालिका रहेको छ।






