काठमाडौँ, वैशाख २३ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेश सहित अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय छ। यसको असरले मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ भने तराईका केही भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। यी प्रदेशका केही स्थानसहित अन्य प्रदेशका केही भूभागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, रातिको समयमा पनि कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।






