विराटनगर, वैशाख २३ । सुनसरी प्रहरीले भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरेर गाँजा ओसारपसार गर्ने प्रयास गरिएको अवस्थामा प्रहरीले बराहक्षेत्रबाट सवारीसाधनसहित दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको १४८ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले एम्बुलेन्स चालक भारत, बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा एम्बुलेन्स प्रयोग गरेर अवैध लागूऔषध भारततर्फ लैजान खोजिएको आशंका गरिएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






