काठमाडौं, वैशाख २४ । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको न्याय परिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि अघि सारेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठताको क्रमअनुसार नभई चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना बनेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।
डा. शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनले पूर्ण ६ वर्षे कार्यकाल प्रधानन्यायाधीशको रूपमा पूरा गर्नेछन् ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयालभन्दा पछिल्लो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको हो । यो निर्णयलाई न्यायिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।






