बंगालका भावी मुख्यमन्त्री सुभेन्द्र अधिकारीका पिएको हत्याले राजनीतिक तरंग



एजेन्सी, वैशाख २४ । पश्चिम बंगालका विपक्षी नेता भावी मुख्यमन्त्री शुभेन्दु अधिकारीका पिए चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको घटनाले राजनीतिक तरंग सिर्जना भएको छ। मध्यमग्राम क्षेत्रमा भएको उक्त घटनालाई अधिकारीले योजनाबद्ध षड्यन्त्र भएको बताएका छन्।

अस्पताल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले २–३ दिनसम्म रेकी गरेर हत्या योजना बनाइएको दाबी गरे। उनले राज्यका डीजीपीले समेत घटनालाई पूर्वनियोजित हत्या भनेको उल्लेख गर्दै प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए।

अधिकारीले भने, “यो १५ वर्षदेखिको ‘महाजंगल राज’ को परिणाम हो। अब भाजपा गुन्डागर्दी सफा गर्ने अभियानमा लाग्नेछ।” घटनापछि भाजपा नेताहरू र समर्थकहरू अस्पताल तथा घटनास्थल पुगेका थिए।

पश्चिम बंगालका डीजीपी सिद्धनाथ गुप्ताका अनुसार घटनामा प्रयोग गरिएको चारपाङ्ग्रे सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा गाडीको नम्बर प्लेट नक्कली भएको आशंका गरिएको छ। घटनास्थलबाट गोलीका खोका तथा अन्य प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार चन्द्रनाथ रथ सवार कार अचानक सडकमा रोकिएपछि मोटरसाइकलमा आएका एक व्यक्तिले कारको बायाँपट्टि नजिकबाट गोली चलाएका थिए। उनले दुई राउन्ड गोली चलेको आवाज सुनेको बताए। घटना राति करिब १०ः३० देखि ११ः०० बजेको बीचमा अस्पताल नजिकै भएको थियो।

प्रहरीका अनुसार रथमाथि चलिरहेको कारमै चार राउन्ड गोली प्रहार गरिएको थियो, जसमध्ये तीन गोली उनलाई लागेको थियो। आक्रमणकारीहरूले कारलाई पछ्याएर मौका पाउनेबित्तिकै अन्धाधुन्ध गोली चलाएको बताइएको छ। कारको अगाडिको बायाँ सिसामा गोलीका स्पष्ट निशान भेटिएका छन्।

चन्द्रनाथ रथ लामो समयदेखि सुवेन्दु अधिकारीसँग नजिक रहेर राजनीतिक समन्वय तथा अन्य जिम्मेवारी सम्हाल्दै आएका थिए। उनलाई अधिकारीको ‘इनर सर्कल’ का विश्वासपात्र सहयोगीका रूपमा चिनिन्थ्यो।

प्रकाशित मिति: २०८३ बैशाख २४, बिहीबार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको