जनकपुरधाम, वैशाख २४ । जनमत पार्टीले समर्थन फिर्ता लिए पछि संकटमा नेपाली काँग्रेस नेतृत्वको मधेश सरकारबारे निर्णय गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु छलफलमा जुटेका छन ।
३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यताका बीच वर्तमान सरकारलाई समर्थन जारी राख्ने की फिर्ता लिन नेताहरु काठमाडौ पुगेका छन । जनमत पार्टीले समर्थन फिर्ता लिएकै दिन जसपा नेपालले समेत समर्थन फिर्ता लिने हल्ला चले पनि अहिले सम्म जसपाले फिर्ता लिएको छैन ।
पर्ख र हेरको रणनीति अपनाएका जसपा नेपालले केन्द्रिय नेतृत्व संगको समन्वयमा निर्णय लिने भन्दै मधेश प्रदेशका तीन जना पूर्व मुख्यमन्त्री सहितका नेताहरु काठमाडौमा जम्मा भएका हुन ।
आज पार्टी कार्यालय बालकुमारीमा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता सरोज कुमार यादव , पूर्व मुख्यमन्त्री जीतेन्द्र सोनल, पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सुरेश कुमार मण्डल सहितका नेताहरुले मधेश प्रदेशको सरकार बारे छलफल गरेको स्रोतले जनाएका छन ।
तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी संग चुनावको मुखमा एकीकरण गरेको भएपनि समायोजन प्रक्रिया बाँकी नै रहेकाले समायोजन प्रक्रिया सकिएपछि मात्र सरकारबारे जसपा नेपालले औपचारिक निर्णय गर्ने जनाइएको छ ।
तत्कालिन जसपा नेपालको १९ र लोसपा नेपालको ८ गरि जम्मा जम्मा २७ जना छन । जसमध्ये एक जना सभामुख र २ जना निलम्बनमा परेका छन । जसपा नेपालको समायोजन पछि पार्टी मधेश प्रदेशको सबै भन्दा ठूलो दल बन्ने र त्यस पछि मात्र सरकारबारे औपचारिक निर्णय गर्ने स्रोतको दावी छ ।
जनमत पार्टीले समर्थन फिर्ता लिए पछि मधेश प्रदेशको सरकार संकटमा परेको छ । जसपा नेपालको निर्णय निर्णायक रहेको हुनाले सबै दल जसपा नेपालको निर्णयलाई पर्खी रहेको छ ।






